कसैलाई सजिलोसँग मर्न नदिनु वास्तवमा ठूलो दण्ड हो र क्रूसले यही असहज मृत्युलाई साथ दिँदथ्यो। यो भयानक पीडाले भरिएको मृत्यु हो। टाँगिएकाहरू सामान्य हिसाबले पनि तीन दिनसम्म जीवित रहँदथे। एउटा घटनामा १० दिनसम्म जीवित रहेको पनि भेटियो। वास्तवमा क्रूसको मृत्युले मानिसको मर्ने अधिकारलाई खोस्दथ्यो। यसले मृत्युलाई चाहिँदोभन्दा बढी लम्ब्याइदिन्थ्यो। क्रूसमा टाँगिने अधिकांश अपराधीहरूले बल छउन्जेल अरूलाई सराप्दथे र चिच्याउँदथे। इतिहासकारहरूले यस्तो विवरण फेला पारेका छन् कि मर्ने बेला तिनीहरूले आफू जन्मेको दिनलाई सराप्दथे। जन्म दिने आमा र क्रूसमा टाँग्नेहरूलाई सराप्दथे। आफूलाई हेर्नेहरूलाई थुक्दथे। तिनीहरूको फोहोर बोलीले सीमा कटेपछि जिब्रोसमेत काटिदिन्थे। लामो कीला हात र गोडामा ठोकिएको कारण हरेक पल्ट सास लिँदा–छोड्दा वा हलचल गर्दा औधी पीडा हुँदथ्यो।
येशूको मृत्यु पनि भयानक थियो, तर पनि अरू अपराधीहरूले जस्तै व्यवहार देखाउनुभएन, बरु बोल्न नसक्ने अवस्थालाई पनि जितेर उहाँले क्रूसबाट उदेकका वाक्यहरू बोल्नुभयो। ती ७ वटा वाणीहरूलाई हामी छोटकरीमा विश्लेषण गर्नेछौं।
१) लूका २३,३४ ‘‘हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्।’’
कस्तो अचम्म! क्रूसमा येशूद्वारा उच्चारित पहिलो शब्द नै ‘क्षमा’ पर्यो! आफ्नो शत्रुलाई ‘क्षमा देऊ’ भन्ने उहाँको आज्ञा सबैभन्दा पहिला आफैले पूरा गरेर देखाउनुभयो। सजिलो र सुविधाजनक ठाउँमा वा मुखले मात्र क्षमा दिने होइन, क्रूसजस्तो अति नै कठिन र अरूलाई सरापूँ–सरापू लाग्ने परीक्षाले काम गर्ने ठाउँमा पनि येशूले क्षमा दिनुभयो। क्रूस सरापको चिन्ह हो, तर येशूको मृत्युले यसलाई क्षमाको प्रतीक बनायो। क्षमा परमेश्वरले मात्र दिन सक्नुहुन्छ र उहाँले मात्र दिनुपर्दछ किनकि हाम्रो पाप उहाँको विरुद्धमा हो।
पापको कारण आफूले के गर्दैछ भन्ने कुरो मानिस जान्दैनन्। ख्रीष्टलाई हामीले पनि नजानीकन क्रूसमा टाँग्यौं, तर उहाँले हामीलाई पनि क्षमा दिनुभयो। हाम्रो पाप उहाँको विरुद्ध थियो, तर हामीलाई दिइएको पाप क्षमाको सुविधा बारे यूहन्ना यसो भन्छन्, ……यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ’’ (१यूहन्ना १,९)।
आफूलाई अन्याय गरेर क्रूसमा टाँग्ने अपराधीहरूलाई क्षमा गर्नको लागि पितासँग चढाउनुभएको येशूको यो प्रार्थना अति नै असामान्य कुरा हो। टाँगिएकाहरूले क्रूसबाट अरूलाई सराप्दथे, तर उहाँलाई हेर्नुस् जसले यहूदा इस्करियोत, पूजाहारीहरू, हेरोद, पिलातस, कैयाफा, मृत्यु दण्डको माग गर्ने भीड, रोमी सिपाही र उहाँलाई क्रूसमा पुर्याउन प्रत्यक्ष–अप्रत्यक्ष जिम्मेवारी लिएका सबैलाई लक्षित गरेर यो क्षमाको वाक्य भन्नुभएको हो। तिनीहरूले येशूसँग जे गरिरहेका थिए सो बारे तिनीहरू आफैलाई थाहा थिएन।
वास्तवमा अहिले पनि पापी मानिसहरूले नजानीकन उहाँलाई क्रूसमा टाँग्दछन्। तिनीहरू येशूको नजरमा अपराधी हुन्। अपराध क्षमा नभएसम्म परमेश्वरको दण्डबाट तिनीहरू उम्कन सक्दैनन् जसकारण उहाँले दिनुहुने क्षमालाई स्वीकार गरेको खण्डमा दण्डबाट जोगिँदछन्। दण्ड दिने हक उहाँसँग भए पनि क्षमाको योजना मानिसहरूको सामु क्रूसबाट उद्घोष गर्नुभयो। क्रूसमा देखाइएको क्षमा प्रेमको उत्कर्ष हो। हाम्रो लागि येशूले क्रूसको वेदीबाट क्षमाको बलिदान चढाउनुभयो। ‘क्षमा गर्नुहोस्’ भनेर उहाँले गर्नुभएको प्रार्थनाको फल आज हामी आफै हौं। क्रूसबाट आएको क्षमाले ‘‘पश्चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिकै टाढ़ा हटाइदिनुभएको छ’’ (भजन १०३,१३)। क्रूसमा येशूले पितासँग चढाउनुभएको यो प्रार्थना शारीरिक कष्टको बेला मुखबाट निस्केको विलाप नै भए पनि शुद्ध प्रेमबाट प्रस्फुटित विलाप हो। हाम्रो परमेश्वर क्षमाशील हुनुहुन्छ।
दोस्रो वाणी,
२) लूका २३,४३ ‘‘आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।’’
यो प्रतिज्ञासहितको वाक्य येशूले आफूलाई स्वीकार गर्ने डाँकूलाई दिनुभएको हो जसले उहाँलाई क्रूसबाट स्वीकार गर्दै यसो भनेको थियो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्” (लूका २३,४२)। असहाय अवस्थामा पनि कसैले येशूलाई स्वीकार गरेको खण्डमा आफू जाने ठाउँमा उहाँले विनाशर्त लानुहुन्छ। यो अनन्त उद्धारको निश्चयता गर्ने वाक्य हो। एक पापीले पश्चात्ताप गरेर यसरी क्षमा पाउँछ। निर्दोष येशूलाई दोषीहरूको बीचमा राखियो र चारैतिरबाट दोषी ठहर्याउने बेला ती दोषीहरूमध्ये एक जनाले नै उहाँको निर्दोष अवस्थालाई स्वीकार गरे। यहाँ उल्लेख गरिएको ‘स्वर्गलोक’ले ‘बगैंचा’ भन्ने अर्थ दिन्छ, जस्तैः अदनको बगैंचा। त्यो धार्मिक मानिसहरू बस्ने स्थान हो। वास्तवमा अदनमा गुमेको त्यो महिमा येशूको मृत्युबाट फिर्ता ल्याउनु थियो।
बडो अनौठो कुरो यो हो कि येशूसँगै क्रूसमा टाँगिएको समयलाई जीवन पाउने मौकाको रूपमा त्यो डाँकूले उपयोग गर्यो। ऊ आफ्नो पापको कारण दुःखित भयो। थोरै समय र बडो अप्ठेरो ठाउँमा भेटेको भए पनि येशूलाई विश्वास गरेको कारण उसले स्वर्गलोकमा ठाउँ पायो। तसर्थ, यहाँबाट एउटा सिद्धान्त निकाल्न सकिन्छ कि स्वर्गको राज्यमा प्रवेश गर्नको लागि तपाईं जस्तोसुकै परिस्थितिमा हुनु भए तापनि येशूसँग भेट भएको र उहाँलाई स्वीकार गरेको हुनुपर्दछ। क्रूसको बाटो गएको हुनैपर्छ। अन्तिम सास फेर्ने क्रममा येशूलाई स्वीकार गरेको कारण स्वर्गलोकमा जाने मौका जुर्यो। ऊ धर्मी भएर होइन, बरु परमेश्वर आफै दयालु हुनुभएको कारणले हो। येशू बचाउन सामर्थवान् हुनुहुन्छ कि आफू क्रूसमा हुँदा पनि पापीलाई बचाउन सक्नुहुन्छ। के तपाईं पनि येशूसँग आफ्नो पापको खातिर क्रूसमा टाँगिनुभएको छ?
विश्वास गर्नेहरूको वर्तमान जस्तोसुकै भए पनि भविष्य सुनिश्चित छ। उद्धार पाएकाहरूलाई बस्ने अनन्तको घर भविष्यमा दिइनेछ (यूहन्ना १४,१–४)। जस्तोसुकै पापी भए पनि क्षमा गरिनेछ। मुक्ति पाउने सजिलो उपाय क्रूसमा टाँगिनुभएको येशूलाई स्वीकार्नु हो। उहाँलाई पुकार्नेहरूले क्षमा पाउँदछन् (रोमी १०,१३) र नपुकार्नेले पाउँदैन, अर्को डाँकूलाई हेर्नुस् – उसले क्षमा मागेन, त्यसकारण पाएन। यो घटनाबाट ‘ऊ अपराधीहरूको गन्तीमा गनियो’ (यशैया ५३,१२) भन्ने वचन येशूमा पूरा भयो।
तेस्रो वाणी,
३) यूहन्ना १९,२६–२७ ‘‘नारी, हेर्नुहोस्, तपाईंको छोरो’’....हेर, तिम्री आमा’’
शारीरिक हिसाबले येशू मरियमको छोरो हुनुहुन्थ्यो। सायद योसेफ पहिला नै मरिसकेको हुनुपर्छ। बुबाको अनुपस्थितिमा छोराले आमाको रेखदेख गर्नुपर्दथ्यो, तर त्यो अभिभारा येशूले पूरा गर्न नसक्ने हुँदा उहाँले आफ्नो प्रेमिलो चेला यूहन्नाको हातमा सुम्पिदिनुभयो। मरियमलाई उनले आफ्नो घरमा लगे। आमाबुबालाई आदर गर्ने व्यवस्थाको आज्ञालाई येशूले पूरा गर्नुभयो। हुन त तीन दिनपछि उहाँ बौरी उठ्नुहुन्थ्यो र पछि नै जिम्मा लगाउन पनि सक्नुहुन्थ्यो, तर क्रूसको भयानक पीडा देखेर मर्माहत भएकी मरियमलाई सम्हाल्ने जिम्मा दिएको पनि हुनसक्छ। पक्कै पनि आफूले जन्म दिएको सन्तान आफ्नै आँखाको सामने हत्या हुनु आमाको लागि कति असहनीय थियो। जे होस्, येशूले एकातिर उद्धारकर्ता भएर मरियमको वास्ता गर्नुभयो भने अर्कोतिर आमाको मर्म बुझेर तिनलाई सम्हाल्नुभयो। ‘हे नारी’ भनेर सम्बोधन गर्नुको अर्थ उहाँ मरियमको छोरो होइन भन्ने कुराको पनि सङ्केत हो किनकि उहाँ मरियमको पनि उद्धारकर्ता हुनुहुन्छ। ‘नारी’ शब्द हिब्रूमा आमाको लागि पनि प्रयोग गरिन्थ्यो, खास गरी स्त्रीहरूलाई आदरसाथ सम्बोधन गरिने शब्द हो। उहाँको सारा शरीर वेदनाले भरिएको र अति दुःखित अवस्थामा थियो, तर पनि उहाँले आमाको वास्ता गर्नुभयो। येशूको जन्मपछि शिमियोनले भविष्यवाणी गरेर मरियमलाई भनेका थिए, 'तरवारले तिम्रो आङ्खनै हृदय पनि छेड्नेछ’ (लूका २,३५)। त्यो वचन यहाँ आएर पूरा भयो। येशूको मृत्यु वास्तविक थियो। त्यो पीडा देखेर धेरैको दिमाग खलबलिन सक्थ्यो। मरियमको मानसिक स्थिति के थियो भन्ने विषयमा हामी जान्दैनौं, तर तिनलाई सम्हाल्नको लागि कोही एक जनाको खाँचो परेको थियो, त्यो खाँचो येशूकै नजिकको चेलाले पूरा गरे।
चौथो वाणी,
४) मत्ती २७,४६, मर्कूस १५,३४ “इलोई, इलोई, लामा सबखथनी?’’ अर्थात् ‘‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?''
यो अति नै गहिरो वेदनासहितको प्रश्न हो। येशूलाई विभिन्न परीक्षाहरू आए। मार्न खोजियो। ती दिनहरूमा कहिल्यै त्यागिएको महसुस गर्नुभएन। ती दिनहरूमा मानिसहरूले उहाँलाई खेदो गरे तापनि साथमा पिता हुनुहुन्थ्यो। क्रूसको यस दुःखद् समयमा उहाँको साथमा पिता हुनु भए पनि उहाँ चुपचाप रहनुभयो। यसबाट हामी बुझ्न सक्छौं कि मानिसको पाप क्षमा हुनको लागि पिताले आफ्नो पुत्रलाई पूरै त्याग्नुभयो। क्रूसमा उहाँलाई सहायता गर्ने कोही पनि भएन। आफ्नै चेलाहरूले समेत उहाँलाई साथ दिएनन्। चाहेर पनि कसैले सहायता गर्न नसक्ने क्रूसको मृत्युमा पर्नुभयो। यस्तो बेला असहाय भएर चित्कार निकाल्नुभयो। यस चित्कारमा हाम्रो उद्धारको मूल्य जोडिएको छ। उहाँ नमारिनुभएको भए हाम्रो पाप क्षमा हुने थिएन किनकि उहाँ मारिनकै लागि परमेश्वरको थुमा भएर आउनुभएको हो। येशूको यस चित्कारबाट भजन २२,१–२ पूरा भयो। लेखिएको छ, ''हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्छ? अनि मेरो करुण–क्रन्दनका शब्दहरूबाट त्यति टाढ़ा? हे मेरा परमेश्वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्न।’’ क्रूसको पीडा कस्तो थियो, हामी व्यक्त गर्न सक्दैनौं। वास्तवमा येशूको शारीरिक पीडाले पापी मानिसको कारण परेमश्वरको हृदयलाई पारेको पीडा प्रष्ट पारेको छ। ‘हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।’ पिताले हाम्रो लागि पुत्रलाई त्याग्नुभयो। एउटा पापी मानिसले बेहोर्नुपर्ने दण्ड उहाँले भोग्नुभयो। हामीलाई प्राप्त गर्नको लागि उहाँ त्यागिनुभयो। पापीको ठाउँ उहाँले लिनुभयो।
पाँचौँ वाणी,
५) यूहन्ना १९,२८ ‘‘मलाई तिर्खा लाग्यो।’’
यो एउटा सामान्य मानिसलाई लाग्ने तिर्खा हो। क्रूसमा टाँगिनअघि नै येशूको शरीरबाट रगत र पसिना धेरै बगिसकेको थियो। शरीरमा झोल पदार्थ थिएन। येशू शरीरमा हुनुहुन्थ्यो। उहाँ स्वर्गदूत वा कुनै आत्मा हुनुहुन्नथ्यो किनकि आत्माहरूलाई भोक र तिर्खा लाग्दैन। सेवा शुरू गर्ने बेला उहाँलाई भोक लाग्यो र सेवाको काम पूरा गर्ने बेला तिर्खा लाग्यो। भोक र तिर्खा लाग्ने ती अवस्थाहरूमा उहाँ पूर्ण रूपमा एकलो हुनुहुन्थ्यो। उहाँलाई खाने र पिउने थोक दिने मानिस कोही आएनन्। पिउने थोक त दिइयो तर पित्त–मिश्रित दाखमद्यसहित नशालु झोल पदार्थ दिइयो जसले क्रूसमा टाँगिने व्यक्तिको पीडालाई कम गर्दथ्यो। तर उहाँले लिनुभएन किनकि मृत्युकै लागि अभिषेक हुनुभएको येशूलाई सजिलैसँग मर्न त्यस्ता थोकहरूको आवश्यकता थिएन। ‘मलाई तिर्खा लाग्यो’ भन्ने वाक्यांशद्वारा पहिले नै गरिएको भविष्यवाणी पूरा हुनुपर्दथ्यो। लेखिएको छ, 'तिनीहरूले मेरो खानामा पित्त हाले, र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए’ (भजन ६९,२१)। जीवनको पानीको मूल र पानी स्वयम्लाई तिर्खा लागेको छ (यूहन्ना ४,१०, ७,३८–३९)। येशूप्रतिको हाम्रो तिर्खा बढाउनको लागि उहाँ आफै तृषित बन्नुभयो।
छैटौँ वाणी,
६) यूहन्ना १९,३० ‘‘अब सिद्धियो’’
मानव जातिको उद्धारको लागि उद्धारकर्ताले भोग्नुपर्ने सबै दुःख अन्त भएको यो एउटा उद्घोषणा हो। येशूले जन्म लिनुभएको दिनदेखि दुःख सहनुभयो तर क्रूसको मृत्युबाट मात्र उहाँका सबै दुःखहरू अन्त हुँदथे र त्यस दुःखको अन्त भएको घोषणा गर्दै उहाँले भन्नुभयो, 'अब सिद्धियो।’
सेवा गर्ने क्रममा उहाँले भोग्नुपर्ने महान् कष्टको विषयमा यस्तो भविष्यवाणी आफैले बोल्नुभयो, “एउटा बप्तिस्मा छ, जो मैले लिनुपर्नेछ। त्यो पूरा नहोउञ्जेल म अति व्याकुल छु” (लूका १२,५०)। येशूले गर्नुहुने सबै सेवाले यही दिन, अर्थात् क्रूसको मृत्युलाई नै प्रतीक्षा गरिरहेको थियो। यसकारण यूहन्नाको सुसमाचारभरि नै उहाँले भन्नुभयो, “मेरो समय आएको छैन” तर लामो समयदेखि पर्खिएको समय आइसकेको घोषणा गर्नुभयो, मानौँ, कुनै खेलमा तोकिएको समय सकिँदछ। जुन उद्देश्य लिएर संसारमा आउनुभएको हो, सो पूरा भयो। येशूले मुक्तिको काम यसरी पूरा गर्नुभयो र अब एउटा पापीले मुक्ति पाउनको लागि गर्नुपर्ने बाँकी काम केही पनि छैन। यसकारण यो पूर्णताको सुस्केरा हो।
सातौँ वाणी,
७) लूका २३,४६ ‘‘हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु’’
येशूले सेवाको शुरूमा प्रार्थना गर्नुभयो र अन्तमा पनि प्रार्थना नै गर्नुभयो। उहाँको सेवाको जीवन प्रार्थनामा आधारित थियो। दुःख, सुख र थाकेको समयमा पनि प्रार्थनामा समय बिताउनुहुन्थ्यो। अन्तिम घडीमा पनि पितामाथि भरोसा जनाउनुभयो (भजन ३१,५, यूहन्ना १७,११)। वास्तवमा उहाँ पिताको इच्छा पूरा गर्न आउनुभएको हो (यूहन्ना ४,३४, ६,३८, ८,२९, १७,४,८)। हाम्रो पापको प्रयश्चितको लागि उहाँ सिद्ध बलि हुनुभयो (हिब्रू १०,११–१२)। अदनको बगैंचामा शैतानको शिर कुच्याउने भविष्यवाणी पूरा भयो (उत्पत्ति ३,१५, लूका २२,१५–१६, हिब्रू २,१४, १यूहन्ना ३,८)। सदाको लागि पापको मोल तिरियो (लूका २३,४७, १कोरिन्थी ६,१९–२०, ७,२३, १पत्रुस १,१८–१९)। उहाँ जुन उद्देश्य पूरा गर्न आउनुभएको हो त्यो पूरा भयो (यूहन्ना १,१८, १२,४५, कलस्सी १,१५, हिब्रू १,३)। आत्मालाई सुम्पने यस कार्यले उहाँलाई पुनरुत्थानको लागि तयार गर्दथ्यो किनकि क्रूस अन्त होइन, शुरूको बिन्दु थियो।
पितालाई पुकारा गरेर येशूले सबै काम पूरा गर्नुभयो। उहाँले पिताको तर्फबाट पापी मानवको निम्ति उद्धारको काम गर्नुभयो। परमेश्वर र मानिसबीच भएको शत्रुतालाई मेटाइदिनुभयो। यी सबै काम पिताको सिद्ध योजनाअनुसार नै पूरा भयो किनकि उहाँ आफैले भन्नुभयो, ''आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु’’ (यूहन्ना १०,१८)। रोम सरकार, यहूदी शासक वा अन्य कुनै मानिसको अगाडि कुनै डाँकू वा अपराधी, राजनीतिक विद्रोही, विप्लवहरूले झैँ हार खाएर येशूले आफ्नो प्राण अर्पण गर्नुभएन। पितालाई आफ्नो शरीर सुम्पेर उहाँको मृत्युमा मानिसको अधिकारलाई हावी हुन दिनुभएन।
हामीले क्रूसबाट उच्चारित येशूका सात वटा वाणीहरू बारे चर्चा गर्यौँ। अङ्क सात सिद्धताको चिन्ह हो। येशूले उच्चारण गर्नुभएका यी सात वाणीहरूले येशू साँच्चै सिद्ध उद्धारकर्ता हुनुहुन्छ भनेर प्रमाणित गर्दछन्। पहिलो कुरो, क्रूसको मृत्यु खप्ने क्षमता मानिसमा छैन, तर उहाँको सम्बन्धमा भन्ने हो भने, प्राण त्याग्नुअघि नै क्रूसलाई आफ्नो अधीनमा राखिसक्नुभएको थियो। दोस्रो कुरो, येशूले आफू क्रूसमा टाँगिनुपर्छ भन्ने कुरो पहिले नै जानिसक्नुभएको थियो। यसैको लागि टाँग्न मिल्ने शरीर कन्या मरियमको कोखबाट लिनुभयो। तेस्रो कुरो, येशूले सेवाकालमा जे शिक्षा दिनुभयो ती सबै सही नै हुन् भन्ने कुरो प्रमाणित गर्नको लागि क्रूसको बाटो तयार पार्नुभयो। सायद येशूले जस्तै शिक्षा दिनेहरू र आफूलाई उद्धारकर्ताको दाबी गर्नेहरू कैयौं आए। उदेकका काम गर्नेहरू पनि आए। तिनीहरूमध्ये कति त क्रूसद्वारा जाँचिए, तर ती सबै असफल भए। याद होस् कि क्रूसमा टाँगिनेहरूमा येशू नै पहिलो र अन्तिम हुनुहुन्नथ्यो। पहिला र पछि पनि थुप्रै मानिसहरू टाँगिए र क्रूसकै कारण तिनीहरूका नामो–निसाना मेटिए, तर उहाँको मामिलामा ठीक उल्टो भयो, अर्थात् उहाँले क्रूसलाई माथ गर्नुभयो। क्रूसको शक्तिलाई माथ गर्नुहुने येशूको विषयमा यस्तो लेखिएको छ,
स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ,कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ
(फिलिप्पी २,८–९)।