प्रस्थान १५:२२–२५
बिरामी हुँदा ''औषधि खानुपर्दैन! अस्पताल जानुपर्दैन! औषधि खानु परमेश्वरप्रतिको अविश्वास हो! बिरामी हुनु परमेश्वरको दण्ड हो'' भन्ने उग्र, अर्ध र बिङ्ठा ख्रीष्टियानहरूले विश्वास नगर्नेहरूको बीचमा ख्रीष्टियान विश्वासको वास्तविक सिद्धान्तलाई बङ्ग्याइदिएका छन्। वास्तवमा आज हामीले बुझ्नुपर्ने पाठ यो हो कि औषधिविज्ञान परमेश्वरको विशाल ज्ञान–भण्डारबाट आएको विद्याको एउटा सानो अंश हो, अर्थात् स्वास्थ्य र औषधि विज्ञान उहाँको चङ्गाइको योजनाभित्र रहेको आयामहरूमध्ये एउटा पाटो हो किनकि उहाँले दाबी गर्नुहुन्छ, ''तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।'' बाइबलमा कैयौँ औषध–उपचारका प्रसङ्गहरू उल्लेख गरिएका छन्, तर हाम्रो अध्ययनलाई सीमामा बाँध्नको लागि प्रस्थान १५,२२–२५बाट सारतत्व निकालेर औषधिविज्ञान तथा चङ्गाइमा परमेश्वरको योजना बारे चर्चा गर्न गइरहेका छौँ। (यतिखेर प्रस्थान १५,२२–२५ पढ्नुस्)
विज्ञान मानिसलाई परमेश्वरतिर केन्द्रित गर्ने मियो हुनुपर्नेमा उल्टै उहाँदेखि फुत्कने विषय बनेको छ। आखिर विज्ञान भनेको सृष्टिमा रहेको रहस्यलाई प्रकट गर्ने एउटा विधि हो। यो अथाह ज्ञानको एउटा शाखा हो। यसले सृष्टि गर्ने होइन, तर सृष्टिमा भएको तत्त्वलाई विधिपूर्वक पत्ता लाउने काम गर्छ। विज्ञानले सृष्टिमा भएको रहस्यलाई मानिसले बुझ्ने गरी तर्कसङ्गत बनाउँछ र त्यो रहस्यको श्रेय परमेश्वरलाई दिइनुपर्दछ। यो सन्देस तयार पार्दासम्म कोरोनाभाइरस शुरू भएको लगभग ५ महिना भइसकेको छ। अहिलेसम्म यसको औषधि बनेको छैन। औषध–विज्ञान जीवन बचाउने कुरोसँग सम्बन्धित विषय भएको कारण यसको लागि जीवनदाता परमेश्वरको ज्ञानलाई काम गर्न दिइनुपर्छ, जस्तो कि कुनै गाडी बिग्रँदा त्यसैको कम्पनीले खोलेको मर्मत केन्द्रमा लगेर मात्र ठीक पार्न सकिन्छ – आफैले ठीक पार्ने कोसिस गरेको खण्डमा झन् बिग्रनसक्छ। यसकारण अनसुन्धानमा जुटेका वैज्ञानिकहरूलाई औषधि पत्ता लगाउनको लागि मानिसको शारीरिक प्रणालीको रचनाकार स्वयम्को ज्ञान चाहिन्छ। आशा गरौँ कि त्यो पनि समयमा नै उहाँले प्रकट गर्नुहुनेछ, तबसम्म यस विषयमा अनुमानका कुराहरू गर्नु हुँदैन। भर्खरै हामीले पढेको खण्डमा पनि औषधिको आवश्यकता पर्ने एउटा अवस्थालाई देखाइएको छ।
सबैभन्दा पहिलो कुरो, यहाँ परिस्थिति नाजुक छ भन्ने कुरो हामीले स्वीकार गर्नुपर्दछ। इस्राएलीहरूले भर्खर मिश्रबाट छुटकारा पाएका थिए। उजाडस्थानमा तीन दिनसम्म निरन्तर खाना र पानीविना हिँड्न बाध्य भए। पानी त भेटियो, तर पिउन नमिल्ने तीतो थियो। यस्तो अवस्थामा गनगन गर्ने नै भयो। रिसको झोँकले होला, ठाउँको नामै 'मारा' राखियो। यसको अर्थ 'तीतो' हो! मिश्रमा हुँदा दूध र मह बग्ने देशमा लाने प्रतिज्ञा परमेश्वरले दिनुहुँदा तिनीहरू निकै हौसिएका थिए, तर परिस्थिति उनीहरूले सोचेको जस्तो थिएन। परमेश्वरले अचम्म तरिकाले लाल समुद्रलाई चिरेर डोर्याउनुभएको अनुभव त गरेका थिए, तर सङ्कष्ट आउँदा ती बिर्सिदिए। मित्रहरू, मरूभूमि संसारको चिन्ह हो। हामी थकित हुने जीवनको यात्रामा छौँ। यहाँ तिर्खा लाग्छ। भोक लाग्छ। मीठो कुराको खोजी गर्दा तीतो अवस्थाको सामना गर्नुपर्छ। हामीले स्वीकार गर्नुपर्छ, कि हाम्रो जीवनमा अहिले पनि यस्तै हुन्छ। अर्थात् कोरोना वा अन्य महामारीको जोखिम भएको संसारमा बाँचिरहेका छौँ। यो वास्तविकता बुझिएन भने हामी पनि इस्राएलीहरूजस्तै धेरै गुनासो गर्ने मानिसहरू बन्नेछौँ।#
दोस्रो कुरो, परिस्थिति नाजुक भए पनि यो परमेश्वरको अधीनमा छ किनकि उहाँ सर्वोच्च हुनुहुन्छ र हामीले देखेका समस्याहरूको उपायहरू उहाँसँग छन्। नाजुक अवस्थामा हामीलाई दिइएको पहिलो उपाय प्रार्थना हो। त्यहाँ लेखिएको छ, ''मोशाले परमप्रभुलाई पुकारा गरे'' (२५ पद)। परिस्थिति नाजुक देख्नेबित्तिकै हामीले गर्नुपर्ने नै प्रार्थना हो। कतिले गिल्ला गरेर भन्ने गर्दछन्, ''तिमीहरूले गर्ने नै प्रार्थना त हो नि!'' मानिसले समस्या सुल्झाउनको लागि सकेसम्म आफै प्रयास गर्छ। केही उपाय नलागेपछि मात्र प्रार्थना गर्छन्। निश्चय नै हामीले प्रार्थना गर्नुपर्छ किनभने उहाँले भन्नुहुन्छ, ''मलाई पुकार, म जवाफ दिनेछु।'' अहिले हामीसँग मारा अर्थात् तीतो अवस्था छ। यो अवस्थालाई उहाँको अधीनमा भएको देख्नको लागि हामीले प्रार्थना गर्नुपर्दछ।#
तेस्रो,
मारामा तीतो पानी भेटिएपछि इस्राएलीहरूले यसलाई गनगन गर्ने मौकाको रूपमा लिए भने परमेश्वरले चाहिँ उहाँ को हुनुहुन्छ भनेर प्रमाणित गर्ने मौकाको रूपमा लिनुभयो। अब परिस्थितिमा परिवर्तन आउँछ किनकि मोशाको पुकाराको सुनुवाइ भएपछि परमेश्वरले बडो सजिलो उपाय दिनुभयो। छेउमा रहेको 'एउटा काठको टुक्रा देखाइदिनुभयो' (२५ पद)। त्यसलाई उठाएर पानीमा हाल्न अह्राउनुभयो। जब पानीमा हालियो तब लेखिएको छ, ''पानी मीठो भयो।''
इस्राएलीहरूले गुनासो गर्नअघि नै माराको पानीलाई परमेश्वरले चुपचाप ठीक पार्न पनि सक्नुहुन्थ्यो। ती गुनासा गर्नेहरूको अघि आश्चर्य ढङ्गले पिउनयोग्य पनि बनाउन सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नुभएन किनभने समस्याको समाधान गर्ने उपायस्वरूप उहाँले चुन्नुभएका मानिसहरू र संसारमा नै उपलब्ध हुने स्रोत–साधनलाई चलाउनुभयो। आज पनि परमेश्वर यही तरिका लगाएर काम गर्न चाहनुहुन्छ।
हाम्रा समस्याहरू संसारका हुन् र यसलाई संसारका थोकहरूले नै ठीक पार्न सकिन्छ, तर ठीक पार्नलाई पनि एउटा विधि चाहिन्छ, त्यो विधि परमेश्वरले नै देखाउनुपर्दछ। तीतो पानीलाई मीठो पार्नको लागि छेउमा रहेको काठको टुक्रा उहाँले नै देखाइदिनुभयो र मानिसको काम त्यसलाई उठाएर हाल्नु मात्र हो। जीवनलाई तीतो पार्ने यस्ता अवस्थाहरू, अर्थात् रोग वा महामारीहरूको औषधि पत्ता लगाउनु भनेको परमेश्वरले काठको टुक्रा देखाएर पानीमा हाल्नको लागि आज्ञा दिनुभएको जस्तो हो। मानिसको भूमिकाचाहिँ त्यसलाई उठाएर पानीमा हाल्नु मात्र हो। बडो साधारण तरिका! काठको टुक्रा टिपेर हाले पुग्ने! आखिर काठको साधारण टुक्रा नै भए पनि देखाउनुपर्ने त परमेश्वरले नै हो। अहिले हामीले खाने औषधि काठपातबाटै बनाइन्छ, अर्थात् जडीबुटीबाटै बनाइन्छ। यीचाहिँ चङ्गाइको लागि परमेश्वरका माध्यमहरू हुन्। यसकारण औषधिको विषयमा हाम्रो दृष्टिकोण सहि हुनुपर्दछ।#
एम्ब्रोज पेरे (Ambroise Pare) लाई आधुनिक सर्जरी, शल्याक्रियाको पिता भनेर चिनिन्छ। सोह्रौँ शताब्दीमा शरीरको अङ्ग चिरफार गर्ने विधि आविष्कार गर्ने श्रेय उनैलाई जान्छ। पेरे फ्रान्सको सैनिक सेवामा डक्टरको काम गर्ने ख्रीष्टियान हुन्। उनले यसो भनेका थिए, ''मैले बिरामीको घाउ सफा मात्र गरेँ, निको त परमेश्वरले नै पार्नुभयो।'' चङ्गाइ परमेश्वरको मामिला हो। पेरेले भनेझैँ, चङ्गाइ गर्ने काम परमेश्वरको हो, डक्टरहरू त उहाँको निम्ति जीवनको पक्षमा उभिदिने उहाँका सहायकहरू मात्र हुन्। यसकारण संसारका कुनै पनि डक्टरले निको पार्ने जिम्मा लिन सक्दैन।
आधुनिक औषधिविज्ञान र उपचारको सुरुआत पश्चिमी देशमा भएको थियो। यसमा ''आफ्नो छिमेकीलाई प्रेम गर'' भन्ने आज्ञालाई नारा बनाएको देखिन्छ। यो आज्ञा लेवी १९:१८, लूका १०:२५–३७मा पढ्न पाइन्छ। प्राचीन युरोप, अर्थात् प्लेटोको समयको कुरा गर्नुहुन्छ भने यस्तो संस्कारको विषयमा पढ्न पाइन्छ कि निको नहुने रोगले प्रभावित शिशुहरूलाई उपचारको झन्झट नगरी मर्न दिइन्थ्यो। बिरामीलाई दुःख दिइन्थ्यो। सुसमाचार फैलिएपछि पश्चिमी समाजमा बिरामीको वास्ता गर्ने चलनले मान्यता पायो, जसले मानिस परमेश्वरको रूपमा सृजिएको कारण बिरामी भए पनि त्यतिकै मर्न दिनु हुँदैन, सकेसम्म बचाउनुपर्छ भनेर जोड दिन थाले। यसमा सबैभन्दा ठूलो कुरो, छिमेकीलाई प्रेम गर भन्ने आज्ञालाई पालन पालन गरियो।
यही आज्ञालाई ध्यान दिएर बिरामीहरूलाई मण्डली भवनहरूमा शरण दिन थालियो। विश्वमा कैयौँ महामारीहरू फैलिए – कोरोनाभन्दा पनि डरलाग्दा महामारीहरू फैलिएका कहालीलाग्दो इतिहास पढ्न पाइन्छ। ती विषम परिस्थितिहरूमा सेवा दिने काम ख्रीष्टियानहरूबाट भयो। अस्पतालको अवधारणाको सूत्रपात चर्चहरूमा भएको थियो। हेर्नुस् त, सङ्कटले जीवन अमूल्य छ भन्ने पाठ सिकाउँछ। उन्नाईसौँ शताब्दीसम्म आइपुग्दा पश्चिमी मण्डलीहरू मेडिकल मिसनरीहरू खटाउनेसम्मका हैसियतमा पुगे। अहिलेसम्म यो काम जारी नै छ।
निष्कर्ष
बाइबल औषधिको विरुद्धमा छैन, न त डक्टरको विरुद्धमा नै छ। यी त माध्यम हुन्, निको पार्ने परमेश्वर नै हुनुहुन्छ। उहाँले बाहिरी घाउ मात्र होइन, भित्री घाउ! यहाँसम्म कि एक्सरेले नदेखिने घाउ पनि निको पार्नुहुन्छ।
डक्टरले निको पार्छ भन्दै परमेश्वरमा विश्वास नगर्नुचाहिँ डक्टरलाई ईश्वर बनाउनु हो। किनकि यशैया ५३,४–५मा लेखिएको छ, 'निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं। 5तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।''