ख्रीष्टियानहरूले मूर्तिलाई चढाएको प्रसाद खान मिल्छ कि मिल्दैन भन्ने प्रश्न
प्राय कुनै न कुनै ख्रीष्टियान बन्धुले सोधिरहेका हुँदछन्। मूर्तिपूजाबाट अलग रहने आज्ञा बाइबलभरि नै दिइएको छ, र प्रसाद पनि मूर्तिपूजाकै एउटा भाग भएको कारण १कोरिन्थी ८ र १० अध्यायले हामीलाई यसबाट अलग रहनको लागि आज्ञा दिन्छ। यसको व्याख्या छुट्टै सन्दर्भमा गरौँला, तर आज प्रसाद खानु हुँदैन र छिमेकीहरूको संस्कारप्रति हामीले कस्तो व्यवहार देखाउने भन्ने विषयमा दानिएलको आत्मिक अनुशासनबाट केही कुरा सिक्न गइरहेका छौँ।
बेबिलोन साम्राज्यका सम्राट् नबूकदनेसरले यहूदालाई ६०५ ईशापूर्वमा बन्दी बनाएर लगिएकाहरूमा दानिएल पनि एक जना पर्दथे। दरबारमा काम गर्नको लागि उनीसँगै, हनन्याह, मीशाएल र अजर्याह पनि छानिए। जातीय वा राष्ट्रियताको हिसाबले तिनीहरू यहूदीहरू थिए। चारै जनालाई बेबिलोनको संस्कारअनुसार अर्कै नाम दिइयो। दरबारको सेवामा नियुक्ति पाउनु तिनीहरूको लागि मौकाको कुरो भए पनि पहिलो झट्का खेप्नुपर्यो, अर्थात् तिनीहरूको नाम बेबिलोनमा स्वीकार्य भएन। दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो नाम दिइयो (दानिएल १:७)। यहूदीहरूको नाम आफैले पनि तिनीहरूको संस्कृतिलाई झल्काउँदथ्यो, तर तिनीहरूलाई नयाँ नाम दिएर यहूदीहरूको सांस्कृतिक पहिचानलाई मेटाउन खोजिएको देखिन्छ। जे होस्, नयाँ नाम दिइँदा ती यहूदी जवानहरूले आपत्ति जनाएनन् किनकि नाम फेरेर तिनीहरूको आस्थालाई केही फरक पार्दैनथ्यो।
नबूकदनेसरको प्रमुख अशपेनजले दानिएलसँगै, हनन्याह, मीशाएल र अजर्याहलाई बेबिलोनीहरूका भाषा र साहित्य सिकाए। यसको अर्थ तिनीहरू बेबिलोनीहरूले जस्तै सोच्न र बोल्न सक्ने बन्दथे। भाषा र साहित्यको ज्ञानले सांस्कृतिक प्रभावलाई द्रूत गतिमा फैलाउँछ। ती चार जना जवानहरूमाथि भाषा र साहित्यबाट बेबिलोनी संस्कार लादिए पनि वास्तवमा राजाको हाकिम अशपेनजले होइन, ‘चार जवान मानिसहरूलाई परमेश्वरले सब किसिमका साहित्य र शिक्षाको ज्ञान र समझ दिनुभयो’ (दानिएल १:१७)। दानिएल र उनका साथीहरूले बेबिलोनको भूमिमा सिकेका त्यही भाषा र साहित्यलाई परमेश्वरले यहूदी (परमेश्वरको) संस्कार फैलाउनको लागि प्रयोग गर्नुभयो।
दानिएल र उनका साथीहरू राजनीतिक बन्दीहरू थिए। तिनीहरूको नाम फेर्दा र साहित्य तथा भाषा सिक्ने कुरोमा आपत्ति थिएन किनकि यसले उनीहरूलाई अशुद्ध पार्दैनथ्यो। यस्तो परिस्थितिमा तिनीहरूले समझ/बुद्धिलाई काम गर्न दिए, तर समझदारिताको साटो सम्झौता गर्नुपर्ने परीक्षा पनि आयो, त्यो हो खानपीन। दानिएल र उनका साथीहरूले तीन वर्षको तालिम अवधिभरि राजदरबारको भान्साबाट खाना खान र दाखमद्य पिउन मानेनन्। यहूदीहरूको आफ्नो पहिचानमा खानासम्बन्धी अनुशासन प्रमुख पर्दथ्यो जसकारण ‘‘दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे’ (१:८ पद)। यो सानो निर्णय थिएन।
दरबारको खाना नखानु राजा र देशको लागि अपमानको कुरो थियो। आफ्नो सेवकलाई बलियो बनाउने राजाको इच्छालाई इन्कार गर्नु थियो। यी चार जनाले राजाको खानामा होइन, परमेश्वरको बलमा विश्वास गरेका थिए, तर यो कुरो बुझाउनको लागि तिनीहरूले प्रतिकार र इन्कारको साटो बिन्ती गरे। दानिएलले बिन्ती गरेर राजाको अधिकृतको मन पग्लिएको होइन किनकि लेखिएको छ,
जब निर्णय गरियो, तब 'परमेश्वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्याउनुभयो' (९ पद)।
राजकीय राजाको भान्सामा पाक्ने थोकदेखि यति धेरै परहेज किन थियो त? खानाले मानिसलाई अशुद्ध पार्दछ, यो कुरो दानिएल जान्दथे। भनिन्छ कि राजाको खाना सबैभन्दा पहिला, मूर्तिहरूलार्इ चढाइन्थ्यो। त्यसपछि राजालार्इ दिइन्थ्यो। राजालार्इ दिइसकेपछि मात्र अन्तमा अरूलार्इ बाँडिन्थ्यो।/1/
दानिएलले दाखमद्य पनि पिउन चाहेनन् किनकि यसले मति, अर्थात् न्याय गर्ने बैद्धिक क्षमता भ्रष्ट पार्दथ्यो। यसकारण राजाको खाना जतिसुकै मीठो भए पनि दानिएलले खान इन्कार गरे। दरबारको खाने कुरोमा सम्झौता नगरेर उनले सही निर्णय गरे र यही निर्णयको कारण पछिल्ला डरलाग्दा परीक्षाहरूमाथि पनि जोगिए।
सांस्कृतिक पाठ
दानिएल, हनन्याह, मीशाएल र अजर्याह बेबिलोनमा भए पनि तिनीहरू बेबिलोनका वासिन्दा थिएनन्। दरबारमा पाएका रहरलाग्दो अवसरहरूले तिनीहरूलार्इ बेबिलोनीजस्तो बन्न बाध्य पार्दथे। यस्तो अवस्थामा दानिएलले चुन्न सक्ने तीन वटा विकल्पहरू थिएः
- सीधै इन्कार गर्न सक्थेः दानिएलले सीधै त्यो नियमको विरोध गरेको भए उनी संस्कार–विरोधीको रूपमा चिनिन्थे। सायद उनी मारिन्थे वा झ्यालखानामा हालिन्थे। बेबिलोनको मूर्तिपूजक संस्कारमाथि यहूदीहरूले परमेश्वरको संस्कारको प्रभावलाई छोड्न सक्दैनथे।
- सीधै स्वीकार पनि गर्न सक्दथे: दानिएलले स्वीकार गरेको भए तिनीहरू पनि बेबिलोनीजस्तै बन्दथे। यहूदीहरूले बेबिलोनीहरूमाथि आफ्नो सांस्कृतिक प्रभाव छोड्नुको साटो तिनीहरू त्यतै विलय हुन्थे।
- मध्यम मार्ग अपनाउन सक्दथे: दानिएलले बेबिलोनको संस्कारलार्इ दोष लाएनन् र आफ्नो यहूदी संस्कारलार्इ पनि तोडेनन्। सीधै स्वीकार पनि गरेनन्, न त इन्कार नै गरे – सर्प मर्ने लौरो नभाँच्ने तरिका अपनाए। समय लगाएर बुद्धिको साथ बेबिलोनको संस्कारभन्दा पृथक, तर खानासम्बन्धी राजाको आज्ञालाई सीधै इन्कार गर्नुको साटो वैकल्पिक उपाय पेस गरे, जसअनुरूप उनी शुद्ध शाकाहरी भए। परमेश्वरको उत्तम संस्कारलार्इ प्रस्तुत गर्ने अनुकरणीय तरिका योभन्दा प्रभावकारी अर्को नहोला।
दानिएलले देखाएको अठोट र समझदारिता ख्रीष्टियानहरूको लागि पछ्याउनलायकको देखिन्छ। बेबिलोन संसारको चिन्ह हो। यहूदीहरू प्रवासी भएजस्तै ख्रीष्टियानहरू संसारमा राखिएका हुन्। पाइने कतिपय अवसरहरूले हामीलाई संसारकै ढाँचामा ढाल्ने सम्भावना छ र आफू जे बन्नुपर्ने हो सो बन्न नदिन सक्छ। ख्रीष्टको सन्देशप्रति नकारात्मक सोच भएका मानिसहरूबीच ख्रीष्टियानहरू रहँदा हामीले दानिएलको बुद्धिलाई पछ्याउनु आवश्यक छ। परमेश्वरको सर्वश्रेष्ठतालाई बुझाउनको लागि उहाँले बेबिलोनजस्तो मूर्तिपूजकहरूको संस्कृतिलाई पनि चलाउनुभयो भने के आज त्यो काम नेपालमा सम्भव नहोला त?
End Notes
/1/ Witness Lee, Life-Study of Genesis, Message 1-18, vol. 1 (Anaheim, California: Living Stream Ministry, 1987), 193.