क्यारोलसँग मेरो अनुभवबाट म आजको सन्देस शुरू गर्न चाहन्छु। .सं. १९८७को कुरो हो।  गोरखा जिल्लाको मिरकोट गाउँको लामोगरामा पहिलो पटक ‘क्यारोल’को माहोल देख्ने मौका पाएँ।  मैले यसलाई येशूको जन्म बारे बयान गरिएका भजनगानसँगै जवानहरू नाच्ने कार्यक्रम भनेर बुझेँ।  दिउँसोदेखि राति अबेलासम्म नाचगान चल्दथ्यो।  कार्यक्रमको विषयवस्तु अर्कै भए पनि ढाँचाको हिसाबले कताकता देउसीलाई समाएको जस्तो देखिन्थ्यो। अचम्मको कुरो, लामोगराका विश्वासीहरूले तिहारको झल्को मेटाउने गरी सेल पोल्दथे क्यारोलमा आउनेहरूलाई नाङ्लोमा सेलको कोसेली खाममा पैसा दिदथे। अन्तिममा त्यो परिवारको लागि प्रार्थना गरेर छुट्दथे।

******

.सं. १९८९मा भारतको खर्साङमा ख्रीष्टमसको ‘क्यारोल’ गान देखेपछि पुतली सडक मण्डली, अर्थात् हालको बेथशालोममा पनि खेल्नुपर्छ भन्ने सोच आयो।  यसमा सङ्गीतका उपकरणहरू जोड्ने उद्देश्य पनि थपियो क्यारोल आर्थिक सङ्कलनको मौका पनि बन्यो। त्यस बेला विश्वासीको घरदैलोमा गएर गरिने यो कार्यक्रम वचन, गाना, खानाअर्थ सङ्कलनमा केन्द्रित थियो।

 

क्यारोलसम्बन्धी मुख्य प्रश्न

ख्रीष्टमससँग जोडेर सोधिने प्रश्नहरूमध्ये ‘ख्रीष्टमस क्यारोल’ पनि एउटा हो।  झूटा शिक्षकहरू यस्ता प्रश्नहरू सोधेर हैरान बनाउँछन्, ''क्यारोल शब्द बाइबलमा कहाँ छ?''  ख्रीष्टियानहरू पनि सोध्छन्, ‘‘हामीले क्यारोल खेल्नु हुन्छ कि हुँदैनक्यारोल भनेको के होक्यारोल खेल्ने चलन कहाँबाट आयो? यो किन खेलिन्छ?’’  सच्चा ख्रीष्टियानहरूकै बीचमा पनि क्यारोल बारे विभिन्न मतहरू छन्।  कसैले यसलाई जायज सम्झन्छन् त कसैले गैर–बाइबलीय भनेर टीका–टिप्पणी गरेको पाइन्छ।  हामीसँग सही दृष्टिकोण नभएको कारण यसलाई अरूले ख्रीष्टयानहरूको देउसी वा छिमेकीहरूबाट सापटी लिएको अर्थ लाइदिँदा कताकता विचलित भएको देखियो।  वास्तविक अर्थ नजानिए पनि क्रिसमसको बेला गरिने भजनगानलाई ‘क्यारोल’ नाम दिएका छौँ।

 

क्यारोल शब्दको उत्पत्ति

क्यारोल’ शब्दको उत्पत्ति प्राचीन ग्रीक ‘कोरोस’ शब्दबाट भएको मानिन्छ।  प्राचीन ग्रीक नाटकमा ‘कोरस’ गाइँदथ्यो।  यो नाचसहितको गीति–नाटक हो।  मध्ये युगमा आइपुग्दा ‘क्यारोल’ शब्दले गोलो घेरा बनाएर नाचगान गर्ने अर्थ दिँदथ्यो धार्मिक र गैर–धार्मिक कार्यक्रमहरूमा त्यस बेलाका मानिसहरू क्यारोल नाच्दथे।

कालन्तरमा ‘कोरस’ शब्द अपभ्रंश भएर ‘कोरउलेस’ भयो।  यसमा नाच्ने नर्तकहरूको लागि बाँसुरी बजाइँदथे।  त्यसपछि ल्याटिन शब्द ‘कोरउला’ हुँदै पुरानो फ्रेञ्च भाषामा ‘क्यारोलेर’ भयो र यसैबाट अङ्ग्रेजीमा ‘क्यारोल’ भएको मानिन्छ।

          सातौँ शताब्दीसम्म क्यारोलले देवीहरूको नाचलाई जनाउँदथ्यो।  यसकारण मण्डलीहरूमा यसलाई स्थान दिइएन।  त्यस बेला पनि मण्डलीमा ख्रीष्टमसका भजनहरू गाउन त गाइन्थ्यो, तर गम्भीर, श्लोकको भाकामा उच्चारण गरिन्थ्यो।  तेह्रौँ शताब्दीको धर्मगुरु आसिसीको फ्रान्सिस (ई.सं. ११८१–१२२६) लाई क्यारोलको जन्मदाता मानिन्छ।  बेथलेहेम र कलवरीलाई जोड दिँदै उनले ई.सं. १२२३मा येशूको जन्म बारे एउटा नाटक रचे जुन इटलीको ग्रेसियो गाउँको एउटा गुफामा देखाइएको थियो।  गोरुसँगै गधाको तबेला, गोठालाहरू र ज्योतिषीहरूसहितको मञ्च बनाइयो।  फ्रान्सिसले सबै दर्शकहरूलाई आनन्दित पार्ने गरी येशूको जन्मलाई झल्काउने भजन जोसको साथ गाएउनको यस जोसले गर्दा पछिल्लो समय भजन लेख्ने काममा क्रान्ति नै आयो।   चौधौँ शताब्दीमा आइपुग्दा ‘क्यारोल’ले नयाँ रूप लियो। पन्ध्रौँ शताब्दीसम्म आइपुग्दा मण्डलीमा पहिला प्रतिबन्ध लगाइएको क्यारोल नाच पनि स्वीकार्य भयो यसरी पन्ध्रौँ शताब्दीबाट क्यारोल शब्द व्यापक भएको तर्क प्रोफेसर सेन्ट्सबरीले राखेका छन्। 

 

बाइबलमा क्यारोल

बाइबलमा ‘क्यारोल’ शब्द छैन भन्ने कुरो बताइरहनु नपर्ला, तर येशूको जन्मलाई गीतबाट व्याख्या गर्नको लागि यही शब्द चलाइँदै आएको छ।  उहाँ जन्मनुभएको खबर यति धेरै खुसीको विषय बन्यो कि स्वर्गदूतहरूले समेत भजन गाएर स्वर्गको रमाहट संसारमा उतारे।  स्वर्गदूतहरूको टोलीले गोठालाहरूको अगाडि गाएको भजनको बोल यस्तो

          ‘सर्वोच्चमा परमेश्वरलाई महिमा,

          र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ,

          तिनीहरूलाई शान्ति’’’ (लूका २,१४)!

साहित्यको हिसाबले लूका २,१४ पद गीत हो किनकि यो पद्यात्मक शैलीमा छ। येशूको जन्मले ल्याएको उमङ्ग बारे शब्द रचना, सङ्गीत र गायन स्वर्गमा नै तयार पारियो, तर यसलाई संसारमा गाइयो।  यसकारण बिशप जेरेमी टेलरको भनाइअनुसार, स्वर्गदूतहरूले बेथलेहेमको मैदानमा गोठालाहरूसँग गाएको यस भजन नै पहिलो क्यारोल हो।  त्यसै गरी जोन मिल्टनले पनि ‘प्याराडाइज लस्ट’मा लूका २,१४लाई आधार बनाएर यसरी लेख्दछन्,      

                   ‘‘पवित्र स्वर्गदूतले उहाँको जन्मस्थान बारे बताउँदछ,

                   रातभर जागा रहने सोझा गोठालाहरू  

                   तिनीहरू त्यहाँ आनन्दले हतारसँग र गायन झुण्डसँगै

                   स्वर्गदूतको झुण्डले उहाँको क्यारोल गाएको सुन्दछन्।’’

          प्राचीन मण्डलीले यसलाई बिहानको प्रार्थना, प्रभुभोजको बेला र ख्रीष्टमसभन्दा अघिल्ला दिनहरूमा भजनको रूप दिएर गाउँदथे।  येशूको जन्मको उल्लासलाई सबैभन्दा पहिला स्वर्गदूतहरूले गीत गाएर व्यक्त गरे।  यसकारण येशूको जन्मलाई गीतमा उतारेर गाउनु, अर्थात् क्यारोलगान गर्नु बाइबलीय हो नेर ठोकुवा गर्न हामीलाई गाह्रो छैन।

         

क्यारोलको इतिहास

हामी चौथो शताब्दीदेखि २१औँ शताब्दीसम्मका अवधिलाई समेटेर क्यारोलको विकासक्रमलाई छोटकरीमा विश्लेषण गर्नेछौँ,

 

          क) चौथो शताब्दी

येशूको जन्मसम्बन्धी पहिलो भजन लेख्ने श्रेय मिलानको आर्कबिशप सन्त एम्ब्रोस (ई.सं. ३३९–३९७) लाई जान्छ।  उनले ‘रिडिमर अफ द नेसन्स् कम’ बोलमा भजन रचे।  त्यसपछि पाँचौँ शताब्दीमा सेडुलियसले ‘फ्रम इस्ट टु वेस्ट, फ्रम शोर टु शोर’ रचे।  स्पेनिश कवि प्रुडेन्टियस ( ई.सं. ३४८–४०५) ले पनि ख्रीष्टको जन्मलाई लक्षित गरेर थुप्रै भजनहरू लेखे।  आराधनामा प्रयोग गरिने हेतुले ख्रीष्टियान सन्यासीहरू र विद्वान्हरूले येशूको जन्मसम्बन्धी भजनहरू रचे।  वास्तवमा उहाँ जन्मनुभएको घटनालाई ईश्वरशास्त्रीय दृष्टिकोणबाट व्याख्या गर्न र मानव जातिको मुक्तिलाई जोड दिनका लागि ती लेखिए। याद गर्नुस्, यतिखेरसम्म ‘क्यारोल’ शब्दको जन्म भएको थिएन।

 

          ख) मध्ये युग

मण्डली इतिहासमा मध्ये युगको सुरुआत पाँचौँ शताब्दीमा हुन्छ भने यसको अन्त पन्ध्रौँ शताब्दीमा हुन्छ।   मध्ये युगमा आइपुग्दा, कलाकारहरूले ख्रीष्टको जन्मलाई भावुक शब्दहरूमा व्यक्त गर्न थाले।  आसिसीको फ्रान्सिस (ई.सं. ११८१–१२२६) ले ख्रीष्टमसको क्यारोल लेखेको प्रसङ्ग अघि नै उल्लेख गरिसकेको छु।  फ्रान्सिसपछि उनको चेला ज्याकापोने डा टोडी (१२२८–१३०६) ले पनि ख्रीष्टको जन्म बारे निकै जोड दिए, जस्तैः कोक्रोमा कन्याले नानीलाई खेलाएको र हेरचाह गरेको दृश्यहरू गीतहरूमा उतारे।  पहिलाका ल्याटिन गीतहरू थोरैले मात्र बुझ्थे, तर टोडीले ती आनन्दमय गीतहरू इटालियन भाषामा रचेपछि सर्वसाधारणले पनि गाउन थाले।  यी गतिविधिहरूले ख्रीष्टमस क्यारोलको जग बसाल्यो।

          तेह्रौँ शताब्दीतिर ख्रीष्टियानहरूले सर्वसाधारणदेखि स्कूल र दरबारहरूमा समेत येशूको जन्मको विषयमा क्यारोल गाए।  पढ्न नजान्ने विश्वासीहरूको लागि यो बाइबल सिक्ने उत्तम उपाय बनेको थियो।  बाइबल सबैले बुझ्ने भाषामा अनुवाद भएको थिएन र सबैले पढ्न–लेख्न जान्दैनथे।  सन्त फ्रान्सिस र उनका सन्यासीहरूले मानिसहरूलाई बाइबलको कथा बुझाउनको लागि गीतहरू रचे, विशेष गरी येशूको जन्म, जीवनकाल, मृत्यु र पुनरुत्थान बारे गीतहरू लेखिए।  एक शहरदेखि अर्को शहरसम्म भ्रमण गरेर स्थानीय भाषामा ती सन्यासीहरूले गीतहरू गाए।  साथमा लोक धुनहरू रच्न र सँगै भेला भएर गाउन सिकाए।  यसरी क्यारोल गान इटलीदेखि फ्रान्ससम्म फैलियो।  त्यहाँबाट स्पेन हुँदै जर्मनीतिर पनि फैलियो। सन्त फ्रान्सिसको उल्लासमय गानको साथै उनले ल्याएका ख्रीष्टमसको कोक्रोको अवधारणाले तेह्रौँ शताब्दीमा सङ्गीत र नाटकको विकासमा उदेकको प्रोत्साहन मिल्यो।  फ्रान्सिसका चेला, अर्थात् फ्रान्सिस्कनहरूले नौलो किसिमको भजनहरूलाई चलनमा ल्याए। साथमा डोमिनिकन सन्यासीहरूले पनि क्यारोललाई इटली हुँदै युरोपभरि फैल्याए। 

          चौधौँ शताब्दीमा आइपुग्दा युरोपभरि स्थानीय भाषाहरूमा ख्रीष्टमस क्यारोल गाउन थालियो।  जर्मनीमा मेइस्टर एकहार्ट (१२६०?–१३२७) को प्रभावमा क्यारोलको भजन लेख्नेहरू प्रशस्तै जन्मिए।  पन्ध्रौँ र सोह्रौँ शताब्दीमा बेलायती लेखकहरूले ख्रीष्टमस क्यारोल र त्यसका छन्दहरू ओइरो नै लागेर लेखे, तर परम्परागत बेलायती र वेल्सका क्यारोल भजनहरूले गैर–ख्रीष्टियान चलनहरू भित्र्या, जस्तैः भोज–भातेर, पिउने र सजावटजस्ता थोकहरू मिसाइए।  ई.सं. १५२१मा ‘बोअर्स हेड क्यारोल – बँदेलको टाउको क्यारोल’ शीर्षकमा एउटा गीत छापियो।  मध्ये युग र पुनर्जागरण (रिनासान्) को युगले पक्रेको बेलायतीहरूले ख्रीष्टको जन्मको घटनालाई मनोरञ्जन गर्ने एउटा उत्सवको रूपमा लिए।

         

ग) मण्डलीको क्रान्तिकाल

१५औँ र १६औँ शताब्दीलाई युरोपमा क्यारोलको विकासको लागि स्वर्णिम युग मानिन्छ।  भजनहरू घरघर, गल्लीहरू मण्डलीका आराधनाहरूमा गाइए।  धार्मिक नाटक (कभेन्ट्री क्यारोल) मा पनि ती समावेश गरिए।  भर्खरै आविष्कार एको छापाखानाले पनि यसलाई फैलाउन मदत गर्यो।  बेलायत, फ्रान्स, स्पेन, जर्मनीमा विभिन्न भजनहरू लेखिए, तर मण्डलीमा आएको क्रान्तिले केही प्रोटेस्टेन्ट देशहरूमा क्यारोलमाथि प्रतिबन्ध लाग्यो।  धार्मिक कार्यक्रमहरूमा ती गाउन दिइएनन्, तर त्यति नै बेला जर्मनीको प्रोटेस्टेन्टहरूबीच भने क्यारोल निकै प्रख्यात भयो।  मार्टिन लुथर आफैले ‘फोन हिम्मेल होच’ नामक भजन रचे र ख्रीष्टमससम्बन्धी अरू भजनहरूलाई ल्याटिनबाट अनुवाद पनि गरे।  मण्डलीहरूमा गाउन बन्देज लगाइए पनि घरघरमा गाउन थालियो पछि ख्रीष्टमसको बेला गाउनेहरूले घरदैलोमा गएर माग्ने कार्यक्रम बनाएपछि बेलायतमा प्युरिटनहरूको क्रान्तिको बेला अर्थात् ई.सं. १६४०को दशकसम्म बन्देज लगाइयो। प्युरिटनहरू भन्नाले १६–१७औँ शताब्दीमा एलिजाबेथ प्रथमको नेतृत्वमा मण्डलीको सुधार भएको दाबी गर्ने बेलायती सम्प्रदाय हुन्।  यिनीहरूले धेरै लामो समयसम्म मण्डलीमा नाचगान र नाटकलाई प्रतिबन्ध लगाए, भनौँ, मण्डलीमा चाड मनाउनेहरू विरुद्ध यिनीहरूले युद्ध नै लडे। 

          क्यारोलको भजन लेख्ने काम सोह्रौँ र सत्रौँ शताब्दीतिर फ्रान्समा खुब फस्टायो।  पन्ध्रौँ शताब्दीमा नै ख्रीष्टमसका क्यारोलहरू रचना भइसके पनि वास्तविक सङ्गीतको रचना र विस्तार पछि मात्र भयो।  यस युगका धेरैजसो गीतकारहरूले आफूलाई बेथलेहेमको वास्तविक तीर्थयात्रीको स्थानमा राखे।  स्पेनमा पनि सोह्रौँ र सत्रौँ शताब्दीको सुरुआतमा क्यारोलसम्बन्धी गीत लेख्ने क्रमले तीब्रता पायो।

धार्मिक अधिकारीहरूले स्कटल्याण्डलाई नियन्त्रणमा लिएपछि सोह्रौँ शताब्दीको अन्ततिर क्यारोलसँगै पहिलेदेखि ख्रीष्टमसको बेला मान्दै आएका चलनहरूमाथि प्रतिबन्ध लगा।  जर्मनीमा सुधारको बेला क्यारोलको गीतकारमाथि प्रतिबन्ध लागे पनि ख्रीष्टमसको उत्कृष्ट भजनहरू लेख्ने प्रेरणामा कमी आएन।  फ्रान्समा भने सुधारले ख्रीष्टमसको सङ्गीतमा थोरै मात्र प्रभाव पार्यो।  सुधारको प्रभावले मण्डलीको भजनको रूपमा निकै प्रख्यात भइसकेका ख्रीष्टमसका भजनहरूमाथि बेवास्ता गरियो। सत्रौँ शताब्दीको मध्यतिर बेलायतमा प्युरिटनहरू शक्तिमा आएपछि क्यारोलका नयाँ गीत लेख्ने क्रम रोकियो, तर पनि सर्वसाधारणले पुरानै गीतहरू गाइरहे, जसकारण धेरै गीतहरूको जगेर्ना भयो

          मण्डलीमा क्रान्ति/सुधारको अभियान पूरा भइसकेपछि पनि प्युरिटनहरूको ख्रीष्टमसविरोधी गतिविधिको परिणामस्वरूप चर्च अफ इङ्ल्याण्डले आराधनामा क्यारोलगानलाई विरोध गरिरहे।  ई.सं. १६६०को दसकदेखि १९औँ शताब्दीसम्म क्यारोलका थोरै मात्र गीतहरू गाउने अनुमति पाए जसमा नहुम टेटको भजन ‘While Shepherds Watched Their Flocks by Night’ र चार्ल्स वेस्लीको ‘Hark the Herald Angels Sing’ जस्ता प्रख्यात भजनहरू पर्दथे। 

         

घ) उन्नाईसौँ शताब्दी

          सत्रौँदेखि उन्नाईसौँ शताब्दीबीच लेखिएका आजसम्म परिचित धेरैजसो क्यारोलका गीतहरू मण्डलीमा गाउने उद्देश्यले धर्मगुरुहरूद्वारा लेखिए।  ‘जोय टु द वोर्ल्ड, बोलको गीत प्रख्यात बेलायती गीतकार आइजक वाट्सले ई.सं. १६९२मा रचे भने ‘ओ कम अल यि फेथफुल’ बोलको भजन जोन फ्रान्सिस वेडले ई.सं. १७४२मा रचे।  ई.सं. १८००को शुरूतिर अष्ट्रियन पुरोहित र उनको अर्गनवादकले ‘साइलेन्ट नाइट’, अर्थात् ख्रीष्टिय भजन ३१को 'शान्तमय रात'को रचना गरे। यो भजन धेरै पहिलेदेखि नै अस्ट्रियन लोक गायकहरूको बीचमा फैलिसकेको थियो र यसको रचनाकार तथा सङ्गीतकार मोहर र ग्रुबर हुन् भन्ने कुरो थाहा हुनअघि नै अन्तरराष्ट्रिय रूपमा प्रख्यात भयो।

धेरैजसो मण्डलीहरूले १९औँ शताब्दीको प्रारम्भसम्म क्यारोल मरिसकेको घोषणा गरे।  विलियम सैण्ड्स, जोन स्टेनर र जे एम नीलसँगै ख्रीष्टमसलाई ताजा बनाउने जाँगरले क्यारोललाई लोप हुनबाट जोगायो          १९औँ शताब्दीको शुरूतिर बेलायतमा क्यारोल मासिने अवस्था आउनुमा थोरै मानिसहरूले मात्र लोक–परम्परामा आधारित गीतहरू गाउन जान्नु थियो।  क्यारोल गाउने झुण्डहरू पनि त्यस शताब्दीको मध्य भागमा घट्दै गए।  बेलायती लोक गीतकारहरूले ख्रीष्टमस क्यारोल मासिने चेताउनी दिएपछि बेलायती ख्रीष्टमस क्यारोलहरू, अर्थात् भजनहरू उन्नाईसौँ शताब्दीको मध्यतिर सङ्कलन गरेर थुप्रै अङ्कहरूमा प्रकाशन गरियो।  मध्यम वर्गीय मानिसहरूको बीचमा चाँडै नै ख्रीष्टमस क्यारोलले फेरि नयाँ गति समायो। ई.सं. १८७०को दशकमा मण्डलीहरूले झण्डै बिर्सिसकेका ख्रीष्टमसका गीतहरू तिनीहरूको आराधनामा समावेश गरिए।  ई.सं. १८८०मा एङ्लीकन बिशपले नौ वटा पाठसहितको समारोह र क्यारोलको आयोजना गरे, ख्रीष्टमसको सङ्गतिमा क्यारोल गानको साथै बाइबलको पाठ पढ्ने चलन पनि मिसाइयो।  यहाँदेखि क्यारोलमाथि रहेको लामो समयको बन्देज फुकाइयो।

          उन्नाईसौँ शताब्दीमा ख्रीष्टमस क्यारोलको उत्थान युरोपमा मात्र होइन, अमेरिकामा पनि बडो जोडतोडको साथ भयो।  अमेरिकनहरूले उन्नाईसौँ शताब्दीको मध्य भागमा आइपुग्दा भर्खरै ख्रीष्टमसलाई सार्वजनिक र धार्मिक छुट्टीको रूपमा स्वीकार गरेका थिए। योभन्दा अगाडिका शताब्दीहरूमा प्युरिटन र अरू सम्प्रदायहरूले विरोध गरेका थिए।  यस युगमा अमेरिकन धर्मगुरुहरूले ख्रीष्टमस क्यारोललाई जगेर्ना गर्न धेरै महत्त्वपूर्ण योगदान दिए। एडमण्ड सियर्स, जोन हेन्री होप्किन्स, फिलिप्स ब्रूक्सजस्ता रचनाकारहरूले योगदान दिए, जसका भजनहरू कालजयी छन्, कति त नेपालीमा पनि अनुवाद भएका छन्। २०औँ शताब्दीका रचनाकारहरूले ख्रीष्टमसका असङ्ख्य भजनहरू लेखेका छन्, तर गैर–ख्रीष्टियानलाई रमाइलो पार्नको लागि ती लेखिए र एक्काईसौँ शताब्दी हाम्रै अगाडि छ।

यहाँसम्म नियाल्दा, मनोरञ्जन गर्ने रहरले क्यारोल गान शुरू भएको देखिँदैन।  यसले तत्कालीन युगको लोक संस्कारलाई प्रस्तुत गर्ने मात्र नभएर बाइबलको औपचारिक शिक्षा फैलाउनलाई पनि मदत गरेको देखिन्छ।  मध्ये युगको कुरो गर्ने हो भने अधिकांश मानिसहरू अक्षर पढ्न सक्दैनथे।  ल्याटिन भाषामा लेखिएका ख्रीष्टियान साहित्य थोरैले मात्र जान्दथे।  यस्तो अवस्थामा शिक्षा दिने हिसाबले भजनहरू रचिए।  रचनाकारहरूले अधिकांश क्यारोलका गीतहरू अङ्ग्रेजी र ल्याटिनलाई मिश्रण गरेर रचे, जस्तैः एकातिर अङ्ग्रेजीमा लेखिन्थ्यो भने त्यसैलाई सँगै ल्याटिनमा पनि अनुवाद गरेर लेखिन्थ्यो।  क्यारोलका गीतहरू रचना गर्ने काममा उस बेलाका धर्मगुरुहरूले ठूलो भूमिका खेले।

          ‘क्यारोल’ को परिभाषा नाचसँग सीमित हुँदा, यसको नाता गैर–ख्रीष्टियान चलनहरूसँग भएको कारण औँल्याएर शुरूमा मण्डलीहरूले औधी नै विरोध गरे र मध्ये युगका कैयौँ परिषद्हरूमा यसको विरुद्धमा नियमहरू पनि बनाइए।  यस्तो कथा पढ्न पाइन्छ, मण्डली भवनको आँगनमा ख्रीष्टमसको पूर्वसन्ध्यामा महिला र पुरुषहरू गोलो पारेर नाचेको भेटिपछि मण्डलीका अधिकारीहरू चिढिए तिनीहरूलाई एक वर्षसम्म नाचिरहने सजायँ दिइयो।

युरोपका धेरैजसो मूर्तिपूजक धर्महरूमा पूजाआज गर्दा नाचको साथमा गीत पनि गाइँदथ्यो, विशेष गरी सूर्यलाई पूजा गर्ने बेला।  यो चलनको ठाउँ ख्रीष्टमसले लियो। प्राचीन मण्डलीले नाचलाई विरोध गर्नुका कारणहरूमध्ये यो पनि एउटा थियो। त्यस बेला धर्मशास्त्रीय र ईश्वरशास्त्रीय मान्यतासँग भन्दा पनि गैर–ख्रीष्टियानको चलन भएको कारण यसलाई स्वीकार नगरिएको कुरो स्पष्ट छ।  यसलाई ख्रीष्टियानकरण गर्ने सम्बन्धमा सायद स्पष्ट दृष्टिकोण नभएको कारण पनि अन्योल सृजना भएको हुनसक्छ। 

         

नेपाली मण्डलीमा क्यारोल

नेपालमा क्यारोलको चलन कहिलेबाट भित्रियो भन्ने जिज्ञासा मेटाउन केही अग्रजहरूसँग कुराकानी गरियो। ई.सं. १९७० को दसकदेखि नै ख्रीष्टमसको बेला येशूको जन्म बारे बयान गरिएका भजनहरू विश्वासीहरूको घर–घरमा गएर गाउने चलन बसिसकेको बुझिन्छ।  क्रिसमसकै बेला मात्र गाइने नेपाली भजनहरू थुप्रै रचिसकेका थिए। त्यस बेला भजन गाइन्थे मात्र, नाच हुँदैनथ्यो।  पछि गानको साथमा नाच पनि थपिए।  वर्तमान परिवेशमा नेपाली ख्रीष्टियानहरूको क्यारोलले शालीनता गुमाएको, विशेष गरी नाचहरू उच्छृङ्खल भयो भन्ने गुनासो सुन्न पाइन्छ र केही हदसम्म यो सही पनि हो।

           

निष्कर्ष

येशूको जन्म चर्चा गरिनैपर्ने ठूलो घटना हो।  सारा पापी मानव जातिको निम्ति यो आशा र आनन्दको विषय हो।  उहाँको जन्मले ल्याएको आनन्दलाई उत्सवको रूपमा मनाउनु बाइबलीय नै हो किनकि स्वर्गदूतहरूले येशूको जन्मलाई गीतबाट घोषणा गरे, जसलाई आज ‘क्यारोल’ शब्दबाट चिनाउनुमा कुनै समस्या देखिँदैन।  बाइबलमा लेखिएको घटनालाई व्याख्या गर्नको लागि शब्दहरू चाहिन्छ, जुन हाम्रा भाषाहरूमा भएको सीमाले कति पटक साथ नदिएको अवस्थामा अरूबाट शब्दको सापटी लिनुपर्ने हुन्छ र वास्तवमा ‘क्यारोल’ शब्द सापटी लिइएको नै हो। 

          चाडको औचित्यलाई नकार्दा अतिवादको पक्षपोषण हुने र यसलाई ईश्वरशास्त्रीय आधारविना स्वीकार गर्दा पनि खोक्रो र रुढीवादतिर ढल्कने हुँदा हामीले क्यारोलप्रति कस्तो धारणा राख्नुपर्छ भन्ने विषयमा स्पष्ट हुनु आवश्यक ।  देउसी–भैलो वा अन्य कुनै धर्मबाट सापटी लिइएको अर्थ लगाएर अनर्थ व्याख्या गर्ने मौका कसैलाई नदिनको लागि यसलाई बाइबलीय र ईश्वरशास्त्रीय परिभाषाको दायराभित्र ल्याएर व्याख्या गर्नुपर्ने देखिन्छ आखिर यो बाइबलभित्रै भएको घटना हो  निश्चय नै क्यारोल शब्द बाइबलमा छैन, तर बाइबलमा यो शब्द हुनु र नहुनु समस्याको विषय होइन, बरु यति धेरै व्यापक भइसकेको ‘क्यारोल’ शब्दलाई नेपाली ख्रीष्टियानहरूले संस्कारित वा नेपालीकरण गर्दै लानुपर्ने देखिन्छ।

          अर्कोतिर, ‘क्यारोल’ले देउसीको रूप धारण गरेको झल्को लाग्ने अवस्था सृजना नगरेको पनि होइन, किनकि त्यहाँ नाचगान हुन्छ, पैसा उठाइन्छ, खानपीन र आशिष् आदि दिइन्छ। ख्रीष्टमसभित्र रहेको क्यारोल धर्मशास्त्र प्रदत्त चलन मान्ने हो भने, यसमा सांसारिक तत्त्वहरू मिसिन दिइनु हुँदैन, यसकारण हाम्रो क्यारोल लूका २,१३–१४ अनुसारको होस्। येशूलाई ओझेल पार्ने कुनै पनि गतिविधिलाई स्थान नदिइयोस्। नेपाली मण्डलीले अँगीकार गरेको क्यारोलमा विशुद्ध सुसमाचार गाभिन्छ भने यसमा धेरै नाटीकुटी गर्नु आवश्यक छैन।

 

सन्दर्भ ग्रन्थसूची

 

  1. Bowler, Gerry.             The World Encyclopedia of Christmas. Ontario: McClelland & Stewart, 2000.
  2. Crump, William D.     The Christmas Encyclopedia, 3rd ed. 90.  Jefferson: McFarland & Co., 2013.
  3. Dearmer, Percy & R Vaughan Williams, Martin Shaw, The Oxford Book of Carols. London: Oxford University Press, 1964.
  4. Gulevich,  Tanya.        Encyclopedia of Christmas & New Year's Celebrations, 2nd Edition. Detroit, Michigan: Omnigraphics, 2003.
  5. Revoir, Trudie West.            Legends and Traditions of Christmas: Devotional Ideas for Family and Group Use During Advent. Valley Forge, Pensylvania:  Judson Press, 1986.
  6. Walsh, Joseph J.          Were They Wise Men Or Kings?: The Book of Christmas Questions. Louisville, Kentucky: Westminster John Knox Press, 2001.
  7. Sharpe's London Magazine: A Journal of Entertainment and Instruction: For General Reading, Vol. 3. London: TB Sharpe, MDCCC XLVII.
Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.