''परमेश्वरले जस्तोसुकै पापीलाई पनि क्षमा गर्नुहुन्छ,
तर आदम र हव्वालाई किन क्षमा दिनुभएन?''
बाइबलमा तपाईंले कुनै त्यस्तो व्यक्ति भेट्टाउनु हुन्छ जसले परमेश्वरसँग क्षमा मागेर पनि पाएन? के आदम र हव्वाले क्षमा माग्दा पनि नपाएका हुन् र? परमेश्वरले तिनीहरूलाई क्षमा दिन इन्कार गर्नुभएको हो त? आदम र हव्वालाई क्षमा नदिइएको होइन, बरु तिनीहरूले पश्चात्ताप नगरेको, तिनीहरूसँग क्षमा स्वीकार गर्न सक्ने हृदय नभएको, तिनीहरूले परमेश्वरलाई नै दोष लगाएको अवस्था बारे यो लेखमा चर्चा गरिनेछ।
पहिलो कुरो, आदम र हव्वाले पश्चात्ताप गरेनन्। पश्चात्ताप गरेको भए, त्यही घडी तिनीहरूले क्षमा पाउँथे, तर तिनीहरूले पश्चात्ताप गरेनन्। आफ्नो भूल स्वीकार गरेनन्। वास्तविकता यो हो कि, पापको कारण तिनीहरूले क्षमा माग्ने त्यो बुद्धि र सुद्धी गुमाए। पापमा फँसेपछि गर्न नहुने काम गरेको महसुससमेत तिनीहरूले गर्न सकेनन्। यसकारण पापको समाधान खोज्नु र क्षमा माग्नुको साटो तिनीहरू परमेश्वरको उपस्थितिबाट लुके जब कि कोही पनि उहाँको उपस्थितिबाट लुक्न सक्दैन। पापले मानिसलाई लुक्ने बनाउँछ। भाग्ने बनाउँछ। त्यतिकै डराउने बनाउँछ। आदम र हव्वामा डरले काम गर्यो। तिनीहरू लुके र भगौडे भए!
दोस्रो, पश्चात्ताप गर्नुको साटो, उल्टै परमेश्वरलाई दोष लाए। आदम र हव्वाले आफ्नो भूल स्वीकार गर्नुको साटो अरूलाई दोष्याए। अझ दुःखको कुरो त, आदमले परमेश्वरलाई नै दोष लाए! कसरी भन्नुहोला? परमेश्वरले केरकार गर्नुहुँदा आदमले भने, ‘‘जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ’’ (उत्पत्ति ३,१२)। अचम्मको आरोप! त्यो पनि परमेश्वरमाथि! आदमले भन्न खोजेको के हो भने, ‘तपाईंले त्यो स्त्री मलाई नदिनुभएको मैले फल खाने नै थिइनँ!’ उहाँलाई नै दोष लाए। हव्वाले के गरिन् भन्ने कुरो हामीलाई थाहा छ। परमेश्वरसँग भूल स्वीकार गर्नुको साटो सर्पलाई दोष लाइन्। यिनीहरूले आफ्नो गल्ती कति पनि महसुस गरेनन्। महसुस गरेको भए पक्कै क्षमा माग्नेथिए र मागेपछि नपाइने कुरै आउँदैन। तिनीहरूले क्षमा माग्दा पनि परमेश्वरले नदिनुभएको भए, ‘किन दिनुभएन’ भन्न सकिन्थ्यो, तर उल्टै तिनीहरूले अरूमाथि आफ्नो दोष थोपर्ने काम गरे। यसकारण आदम र हव्वालाई किन क्षमा दिइएन भन्ने प्रश्न आफै पनि असान्दर्भिक छ र यो तपाईंले सोध्नै नपर्ने प्रश्न हो।
तेस्रो कुरो, तिनीहरूले क्षमाको महत्त्व बुझेनन्। तिनीहरू क्षमाको महत्त्व बुझ्न नसक्ने अवस्थामा पुगे। मानौँ, कुनै बच्चाले गल्ती गर्छ रे। आफूले गल्ती गरेको छु भन्ने कुरो उसले बुझ्दैन भने उसलाई क्षमा दिनुको अर्थ केही लाग्दैन। गल्ती गरेको महसुस नगरेसम्म उसले त्यही गल्ती घरिघरि दोहोर्याइरहन्छ। बुबाआमाले क्षमा दिएर वा सहेर उसलाई केही फाइदा हुँदैन। आदम र हव्वाको मामिलामा पनि ठीक त्यही नै भयो। उनीहरूले आफ्नो पापलाई नै बुझेनन् भने परमेश्वरको क्षमाको कुनै माने थिएन।
चौथो, आदम र हव्वा परमेश्वरजस्तै बन्न चाहे। यो सानो पाप थिएन। तिनीहरूले फल खाएको निहूँ झिकेर परमेश्वरले बबण्डर मच्चाउनुभएको होइन। फल खान निषेध गर्नु भनेको साङ्केतिक रूपमा एउटा सीमारेखा कोर्नु हो – त्यो सीमा नाघ्नु हुँदैनथ्यो, तर त्यो तिनीहरूले नाघे। त्यो नाघ्नु नै आफूलाई आफैले सिध्याउनु हो। आदम र हव्वा सृष्टि हुन् र तिनीहरू मानिस नै भएर रहनुपर्दथ्यो, तर शैतानको उक्साइमा परेर परमेश्वरजस्तै बन्ने लालचमा फँसे। यसकारण तिनीहरूको पाप डरलाग्दो थियो।
पाँचौँ, आदम र हव्वाको पाप गम्भीर थियो। यो मृत्युमा पुर्याउने पाप थियो। निषेधित फल खाएको खण्डमा तिमीहरू मर्नेछौ भनेर पहिले नै चेताउनी दिइएको थियो। चेताउनी दिँदा–दिँदै पनि तिनीहरूले जानीजानी परमेश्वरको विरुद्ध पाप गरेका थिए। यो अञ्जानमा गरिएको पाप थिएन। मानिसमा पापको माध्यमबाट मृत्यु छिरिसकेको थियो, यसलाई सजिलोसँग सुधार्न सकिँदैनथ्यो। यिनीहरूलाई पुनस्थापना गर्नको लागि सबैभन्दा पहिला उनीहरूले गरेको पाप बारे ज्ञान दिनु थियो। पापको विषयमा ज्ञान दिनको लागि लामो प्रक्रिया अपनाउनु पर्यो, जसको लागि व्यवस्था दिइयो। व्यवस्थाले पापको ज्ञान दियो र थोरै समयको लागि भए पनि पापक्षमा हुने बलिदानको व्यवस्था दिइयो। साथमा परमेश्वरकहाँ डोर्याउने अगमवक्ताहरू पनि दिइए। पापको ज्ञान पाएपछि कालन्तरमा क्षमाको लागि अन्तिम उपाय तोकियो, त्यो उपाय येशूमा निश्चित गरियो। यसरी सजिलैसँग क्षमा नहुने मानिसको पापलाई परमेश्वर आफैले टुङ्गो लाउन निकै लामो समय लाग्यो।
निष्कर्ष
हामीले विश्वास गरेको परमेश्वर क्षमा नदिने परमेश्वर हुनुहुन्न। उहाँले क्षमा नदिनुभएका कुनै व्यक्ति म बाइबलमा भेट्टाउँदिनँ। यहाँसम्म कि यहूदा इस्करियोतले पनि क्षमा मागेको भए पाउँथ्यो, तर माग्दै नमागेपछि पाउने कुरो भएन। याद गर्नुस्, क्षमा माग्नैपर्छ। मागेपछि सित्तैँमा दिइन्छ, तर यो नमागीकन परमेश्वरले त्यतिकै हामीलाई थोपरिदिनुहुन्न।
परमेश्वर क्षमाशील हुनुभएको कारण आदम र हव्वाबाट सारा मानव जातिमा फैलिएको पापलाई सदाको लागि मेटाउने योजना गर्नुभयो, जसको लागि एक जना उद्धारकर्ताको विषयमा घोषणा गर्नुभयो। लेखिएको छ, ‘‘तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हिलिदनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्’’ (उत्पत्ति ३,१५)। यहाँ प्रतिज्ञा गरिएअनुसार, स्त्रीको सन्तानले शैतानको शिर कुच्याउनुपर्दथ्यो। हामी सबैलाई थाहा भएकै कुरा हो कि पुरुषविना स्त्रीले मात्र सन्तान जन्माउन सक्दैन, तर उत्पत्ति ३,१५ले पुरुषको संसर्गविना जन्मने एउटा सन्तानको विषयमा बताएको छ। त्यो स्त्रीको सन्तान भएर जन्मने अरू कोही नभएर येशू नै हुनुहुन्छ, अर्थात् कन्या मरियमको कोखबाट पवित्र आत्माद्वारा जन्मनुभयो। त्यो क्षमाको योजना येशूमा आएर पूरा भयो किनकि प्रतिज्ञा गरिएको स्त्रीको सन्तान उहाँ नै हुनुहुन्छ।
क्षमा पाउनको लागि क्षमा मागिएको हुनुपर्छ। मागिएन भने दिइँदैन र नमागीकन दिने हो भने त्यो क्षमाको कुनै मूल्य हुँदैन। अरूले मागेर हुँदैन। सम्बन्धित व्यक्तिले मागेको हुनुपर्छ। क्षमा दिइएपछि स्वीकार गर्ने हृदय पनि हुनुपर्छ। आदम र हव्वासँग क्षमा स्वीकार गर्ने हृदय नै थिएन।
आदम र हव्वाप्रति परमेश्वर कठोर हुनुभएन। विचार गर्नुस् त, तिनीहरू नाङ्गै थिए। नग्नतालाई सही ढङ्गले ढाक्ने सोचसमेत तिनीहरूको दिमागमा थिएन। त्यो नग्नता ढाक्नलाई पशु मारेर छालाको वस्त्र पहिराउने काम परमेश्वर आफैले गर्नुभयो। तिनीहरूको नग्नता ढाक्नलाई पशु मारिनुपर्यो जसले अनन्त बलिदान र पाप क्षमाको खाँचो औँल्यायो। परमेश्वरले तिनीहरू पापी भए पनि वास्ता गर्नुभयो।
यसकारण परमेश्वरले आदम र हव्वालाई क्षमा नै दिनुभएन भन्ने ठाउँ छैन। तिनीहरूले पाप गर्नेबित्तिकै क्षमा मागेको भए – क्षमा दिउँ कि नदिउँ भनेर उहाँले पक्कै पनि सोच्नुहुन्नथ्यो। एक सेकेण्ड पनि नलगाईकन तुरुन्त क्षमा दिनुहुन्थ्यो। म यो किन भन्दैछु? वचनमा लेखिएको छ, ‘‘यदि हामीले आफ्न पापहरू स्वीकार गर्यौँ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यदि हामीले पाप गरेका छैनौँ भनी हामी भन्छौँ भने हामी उहाँलाई झूटा तुल्याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन’’ (१यूहन्ना १,९–१०)।